काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख (एसएसपी) विश्व अधिकारीले संगठनमा प्रहरी जवानको योगदान समेत उच्च रहेको बताएका छन् ।
आइतबार प्रहरी वृत्त दरवारमार्गको निरीक्षण तथा निर्देशन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रहरी जवानलाई संगठनको मेरूदण्डको संज्ञा दिए ।
सेवाग्राहीहरुसंगको दैनिक व्यवहारमा व्यावसायिकता प्रदर्शन गर्न र सभ्य शिष्ट तवरले प्रस्तुत हुन पनि उनले निर्देशन दिए ।
आफुलाई तोकिएको जिम्मेवारी अनुसार सबै दर्जाका प्रहरी कर्मचारीहरूले प्रभावकारी र उत्कृष्ट तवरबाट कार्यसम्पादन गर्नुपर्ने उनको भनाइ छ ।
निरीक्षण र रोलकाल जस्ता कुराहरू नियमित गर्नुपर्ने, ड्रिलहरु परिवर्तन भइरहने हुँदा सो अनुसार सबैलाई जानकारी गराई सबै प्रहरी कर्मचारीहरु अपडेट उनले बताए ।
साथै मौसम जन्य विपदको बेलामा आफ्नो कार्यालयमा भएको उद्धारका सामाग्रीहरू तयारी रूपमा राख्न र तत्कालै परिचालन हुन सक्ने अवस्थामा रहन समेत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई एसएसपी अधिकारीले निर्देशन दिए ।