काठमाडौं । जन्मदिनको उत्सव विवादमा परिणत हुँदा एक युवकले ज्यान गुमाएका छन् ।
असार ६ गते शुक्रबार राति काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–५, टुसालस्थित डेरामा भएको कुटपिट घटनामा बारा, निजगढ–८ का ३२ वर्षीय कृष्ण लामाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विकास लामाले आफ्नी बहिनीको जन्मदिनको अवसरमा साथीहरूलाई डेरामा बोलाएका थिए ।
पार्टीका क्रममा मदिरा सेवनपछि सामान्य भनिएको झगडा अचानक हिंसात्मक रूप लिँदा कृष्णलाई तीव्र कुटपिट गरिएको थियो ।
गम्भीर घाइते भएका उनलाई उद्धार गरी उपचारका लागि अस्पताल लैजाने प्रयास गरिए पनि बाटैमा ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा विकास लामा, सुगन्द लामा, सौगात क्षेत्री र निसान जिम्बालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार व्यक्तिगत विवादकै कारण झगडा चर्किएको हुन सक्ने आशंका गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ र दोषीहरूमाथि कानुनी कारबाही अघि बढाइनेछ ।