काठमाडौं । नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा अस्वभाविक लम्बिएको छ । एसएसपीका पदहरू रिक्त भएको महिनौं हुँदा पनि बढुवामा कुरा मिल्न सकेको छैन।
जुनियर एसपीहरुको चलखेलले बढुवा रोकिएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । ११ रिक्त पदमा ३३ एसपी प्रतिस्पर्धामा छन् । सबैजसो शक्तिशाली भएकाले गृहमन्त्रीले सूची बनाउन सकेका छैनन् । सकेसम्म गृहमन्त्री आफू निकटस्थलाई बढुवा गर्ने योजनामा छन् । तर, शक्तिकेन्द्रहरुको सन्तुलन मिलाउन बढुवा रोकिएको छ ।
ज्येष्ठताअनुसार विमल बस्नेत, प्रकाश रानाभाट, कमल थापा, तुलबहादुर कार्की, राकेश सिंह, राजिब कुमार बस्नेत, दिपक पोखरेल, केदार खनाल, ज्ञानेन्द्र प्रसाद फुयाल, दिपेन्द्र शाही, रामप्रकाश शाह, प्रविण धिताल र दयानिधी ज्ञवाली सबैभन्दा सिनियर छन् ।
यसमध्ये विमल बस्नेतको बढुवा रोक्का भएका अधिकृत हुन् भने कमल थापा हनि ट्रयापिङ केसमा छानविनमा रहेका छन् ।
दोस्रो लटमा भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश प्रसाद काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोखरेल, पदमबहादुर विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्रबहादुर शाही छन् ।
त्यस्तै, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन प्रसाद तिमल्सिना र रमेश पण्डित तेस्रो लटमा बढुवा भएका हुन् । तेस्रो लटमा बढुवा भएकाहरुको तीन वर्ष मात्र पुगेको छ ।
जबकी पहिलो लटका एसपी भएको सात वर्ष भइसकेको छ । सात वर्ष भएका एसपीलाई छुटाएर तीन वर्ष मात्र अवधि पुगेकालाई बढुवा गर्न दबाब आएपछि आइजीपीले बढुवा रोकेको स्रोत बताउँछ ।
तेस्रो लटका जनकबहादुर शाही र चक्रराज जोशी गृहमन्त्री रमेश लेखकको क्षेत्रको भएको भन्दै उनीहरुले दबाब दिइरहेका छन् । अन्तिम नम्बरमा रहेका रमेश पण्डितले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर सिफारिस गराएको स्रोत बताउँछ । कतिपयले बढुवाका लागि अख्तियारका उच्च अधिकारीमार्फत दबाब दिइरहेका छन् ।
एसपीको बढुवा रोकिदा तल्लो तहसमम असर परेको छ । असार मसान्तभित्र बढुवा नगरे नयाँ आर्थिक वर्ष सुरु भएपछि कात्तिकमा मात्र बढुवा गर्न मिल्छ ।
एसएसपीमै बढुवा रोकिदा डिएसपीबाट एसपी, इन्सपेक्टरबाट डिएसपी तथा वरिष्ठ सइबाट इन्सपेक्टरमा पनि रोकिएको छ । यसले सिंगो संगठनकै बढुवा प्रणाली प्रभावित बनेको छ ।