अछाम । अछामको रामारोशन गाउँपालिकामा भएको कर्तव्य ज्यान मुद्दाका फरार दुई प्रतिवादी पक्राउ परेका छन् ।
२०७८ साल कात्तिक २१ गते रामारोशन गाउँपालिका–६ रम्तडा र टुडिसैनबीचको सालघारी भन्ने स्थानमा गगन साउँदको हत्या भएको थियो ।
घटनापछि फरार रहेका झपड साउँद र कुले साउँदलाई लामो समयको खोजतलासपछि प्रहरीले पक्राउ गरेको हो । दुवै जना सोही गाउँपालिका–६ निवासी हुन् ।
उनीहरूलाई खोज्न प्रहरी चौकी सान्तडाबाट खटिएको टोलीले मिति २०८२ असार ८ गते साँझ ६ बजे भाटाकाटियाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।
उनीहरूलाई नियन्त्रणमा लिएपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।