दैलेख । विवाहको प्रलोभन देखाई बालिकामाथि जबरजस्ती करणी गरी फरार रहेका अभियुक्तलाई दैलेख प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–२२ की एक बालिकालाई विवाह गर्छु भन्ने बहानामा फकाएर जबरजस्ती करणी गरी अश्लील तस्बिर खिची आफन्तलाई पठाई उत्पीडन गरेको आरोपमा फरार रहेका अभियुक्त सन्तोष खत्री पक्राउ परेका हुन् ।
मुगु जिल्ला, छायाँनाथ रारा नगरपालिका–२ घर भएका खत्रीलाई प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। उनी मुगुबाट नेपालगञ्जतर्फ जाँदै गरेको सुराकी पाएपछि ईलाका प्रहरी कार्यालय राकम कर्णालीबाट खटिएको टोलीले दैलेखको आठबीस नगरपालिका–४ राकम कर्णालीबाट उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
२०८१ साल कात्तिक ४ गते राति करिब ९ बजे बालिकामाथि भएको घटनापछि अभियुक्त फरार रहेका थिए । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दैलेखमा राखी अनुसन्धान सुरु गरिएको छ ।
दैलेख जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लाल बहादुर सुनारले जानकारी दिए ।