काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले विद्युत आपूर्तिको अवरोधप्रति तीव्र असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीप्रति आक्रोश व्यक्त गरेका छन् ।
बुधबार साँझ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले ललितपुरको महालक्ष्मी नगरपालिका–इमाडोल क्षेत्रमा एक घण्टासम्म विद्युत आपूर्ति अवरुद्ध भएको भन्दै यसलाई 'अघोषित लोडसेडिङ' को संज्ञा दिएका हुन् ।
'प्रधानमन्त्रीले ल्याए विद्युतमा सालो, लोडसेडिङले भयो अन्धकार र कालो,' शाहीले लेखेका छन्। उनले प्रधानमन्त्रीको नेतृत्वमा भइरहेको विद्युत व्यवस्थानप्रति प्रश्न उठाउँदै नागरिकलाई सामाजिक सञ्जालमार्फत सभ्य भाषामा आवाज उठाउन अपिल गरेका छन्।
'तपाईंहरूको क्षेत्रमा पनि बत्ती गएको छ कि छैन, कमेन्टमा लेख्नुहोस्,' भन्दै शाहीले नागरिक अभिमत संकलन गर्नसमेत आग्रह गरेका छन्।
उनले प्रधानमन्त्रीलाई ह्यासट्याग गरेर जवाफ माग्न र सार्वजनिक दबाब सिर्जना गर्न आग्रह गर्दै वर्तमान सरकारको ऊर्जा प्रशासनमाथि कडा आलोचना गरेका छन्।