अर्घाखाँची । अर्घाखाँचीमा भाइको हत्या गरेको आरोपमा दाइ पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार ३२ वर्षीय भाइ वमबहादुरको हत्या गरेको आरोपमा शितगंगा नगरपालिका–६ पाखापानीका ४२ वर्षीय विष्णु भनिने टेकबहादुर बादीलाई पक्राउ गरिएको हो ।
दाजु-भाइबीच लामो समयदेखि विवाद रहँदै आएको बताइएको छ । बिहीबार साँझ दुवै जनाले मदिरा सेवन गरेका थिए । त्यहीबेला उनीहरूको विवाद शुरू भएको हो ।
विवाद बढ्दै गएपछि विष्णुले भाइको टाउकोमा बन्चरो प्रहार गरेको अर्घाखाँची प्रहरीले जनाएको छ । बन्चरो प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका वमबहादुरलाई स्थानीयले तत्काल प्राथमिक स्वास्थ्य केन्द्र ठाडा लगेका थिए ।
उनको उपचारको क्रममा राति १ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका विष्णुबहादुरलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धान थालेको छ ।