काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एण्ड ट्राभल्समार्फत विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ नागरिकसँग अर्बौं रुपैयाँ ठगी गरिएको आरोप लगाउँदै त्यसमा संलग्नको निष्पक्ष छानबिन र कारबाहीको माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा शनिबार खतिवडाले पद किनेर सांसद हुनेले नै वर्षौदेखि यस्तो ठगी गरेको आरोप लगाएका हुन् । उनले उक्त कम्पनीले लामो समयदेखि भिजिट भिसाको आडमा ठगी धन्दा चलाउँदै आएको र त्यही पैसाले अहिले संसदसम्मको पहुँच बनाइएको आरोप लगाए ।
“जापान जान चाहने नेपालीहरूबाट अर्बौं असुलेर संसदसम्म आइपुगेका छन्,” सांसद खतिवडाले भने, “यसमा निष्पक्ष छानबिन हुनुपर्छ र दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।”
उनले नाम नलिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदतर्फ लक्षित गर्दै प्रश्न उठाएका थिए ।