काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले धानखेती योग्य जमिनमा सिचाइँ सुविधा विस्तार गर्न राज्यको ध्यान केन्द्रित हुन जरुरी रहेको बताएका छन् ।
राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले धान खेती नेपाली समाज र जीवनसँग अभिन्न भएर रहेको बताएका हुन् ।
‘नेपालको संविधानले प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हकको व्यवस्था गरेको छ । खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि धान खेतीको प्रवर्द्धन गर्नु आवश्यक देखिन्छ । नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकांश जनताको प्रमुख खाद्यान्न बाली धान हो ।’ शुभकामना सन्देशमा भनिएको छ,‘त्यसैले धान खेती नेपाली समाज र जीवनसँग अभिन्न भएर रहेको छ । यसले हाम्रो जीवनमा आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक एवम् पर्यटकीय महत्त्व पनि राख्दछ । विश्वव्यापी जलवायु परिवर्तनले धान खेतीमा पारेको र पर्न सक्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाई धानको उत्पादन एवम् उत्पादकत्व बढाउँदै धानवालीको विविधीकरण गर्नुपर्ने आजको आवश्यकता हो ।’
नेपालमा धान खेतीको लागि पर्याप्त सिंचाईको व्यवस्था भईनसकेको सन्दर्भमा वर्षा राम्रो नभएको वर्ष धान उत्पादन घट्ने र वर्षा राम्रो हुँदा उत्पादन बढ्ने गरेको तथ्यहरूले देखाएको उनको भनाई छ।