काठमाडौं। रक्षामन्त्री मानवीर राईले सुरक्षाकर्मीहरूको सेवा–सुविधा न्युन रहेको स्वीकार गरेका छन् ।
बुधवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री राईले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेवा–सुविधा अपेक्षाकृत कम रहे पनि मुलुकको कमजोर आर्थिक अवस्थाका कारण वृद्धि गर्न नसकेको बताएका हुन् ।
उनले आगामी दिनमा राज्यको आर्थिक अवस्था मजबुत हुँदै गएपछि वृद्धि गर्ने कुरामा सरकार सकारात्मक रहेको पनि बताए ।
उनले भने–‘मुलुकको एउटै समस्या के हो भने हामी अर्थतन्त्रमा जति माथि आउनुपर्ने हो त्यति आइरहेका छैनौँ । सुरक्षाकर्मीहरूको सेवा–सुविधा न्युन रहेको मलाई थाहा छ । तर मुलुकको कमजोर आर्थिक अवस्थाका कारण नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेवा–सुविधा अपेक्षाकृत रुपमा वृद्धि गर्न सकेनौं।’
उनले मुलुकको अर्थतन्त्रले विस्तारै लय समात्दै गएको उल्लेख गर्दै अगामी दिनमा सुरक्षाकर्मीको सेवा सुविधामा वृद्धि हुने विश्वास समेत दिलाए ।
उनले मुलुकको उत्पादन क्षेत्रको अवस्था हेरेर भविष्यमा नेपाली सेनालाई थप जिम्मेवारी दिने कुरामा पनि सरकार गम्भिर रहेको बताए ।