काठमाडौं । बैंक ठगीको आरोपमा एमालेको केन्द्रीय सदस्य पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले केन्द्रीय सदस्य पशुपति दयाल मिश्रलाई पक्राउ गरेको हो ।
उनी कर्णाली विकास बैंकका पूर्वअध्यक्ष हुन्। बैंकको घोटालमा उनको पनि संलग्नता देखिएपछि सिआइबीले नेपालगञ्जबाट उनलाई पक्राउ गरेको हो।
यसअघि सो बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायसहितलाई पक्राउ गरी सिआइबीले अनुसन्धान गरिरहेको छ।
उनी विसं २०६६ सालदेखि ०७५ सालसम्म बैंकको अध्यक्ष थिए ।
मधेश आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी बाँके क्षेत्र नं. २ बाट उम्मेदवार थिए ।
स्वतन्त्र राजनीतिक समूहका उनी सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भए ।
पछि उनी एमाले प्रवेश गरेका थिए । उनी पार्टीका अहिले केन्द्रीय सदस्य हुन् ।
मिश्रसँगै यो ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका थिए ।
पक्राउ परेकाहरुलाई बाँके नै राखेर सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ ।
बैंकमा अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको छ । कर्णाली विकास बैंक २०६० सालमा स्थापना भएको थियो ।
अपचलनमा संलग्न मुख्य व्यक्ति रायको कर्णाली विकास बैंकमा करिब ८० प्रतिशत संस्थापक सेयर छ ।