काठमाडौं । राजधानीको ललितपुरस्थित वालिफलबाट ‘मिटु डेटिङ एप’ सञ्चालन गरी अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा ६ चिनियाँ नागरिकसहित ५२ जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ललितपुरको वालिफलस्थित दमकल चोकमा रहेको घरमा छापा मारेर उक्त समूहलाई पक्राउ गरेको हो ।
समूहले ‘सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी’ दर्ता गराएर डेटिङ एपको आडमा गैरकानुनी क्रियाकलाप गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
पक्राउ परेका चिनियाँ नागरिकहरूमा २९ वर्षीय झाङ लुन, २७ वर्षीय चेन जेआहाओ, ४१ वर्षीय लिन डीई, ३२ वर्षीय एक्स यूझइन्जिन (दुई जना), र ३३ वर्षीय एक्स यू लिङहुए रहेका छन् । उनीहरूले नेपाली युवतीहरूलाई डेटिङ एपमार्फत प्रलोभनमा पारी अनलाइन स्क्याम गर्दै आएका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोका अनुसार, उक्त समूह क्रिप्टो कारोबारमा समेत संलग्न रहेको पाइएको छ । अनुसन्धानको क्रममा उनीहरूले काठमाडौंको चागलमा एक घर भाडामा लिएर स्क्याम सञ्चालन गर्दै आएको समेत खुलेको छ ।
उनीहरूको साथबाट स्रोत नखुलेको करिब १४ लाख रुपैयाँ, ७ थान ल्यापटप र ५४ थान मोबाइल बरामद गरिएको छ । चिनियाँ नागरिकविरुद्ध अभौतिक मुद्रासम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
यसैगरी, पक्राउ परेका ४६ जना नेपाली नागरिकमाथि पनि संलग्नताको विषयमा अनुसन्धान भइरहेको छ ।