काठमाडौं । सरकारले एकैपटक १२२ जना उपसचिव र ९७ शाखा अधिकृतको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार गरिएको सरुवासँगै अब देशभरका गाउँपालिका तथा नगरपालिका सबैमा दरबन्दीअनुसारका प्रशासकीय अधिकृत पुगेका हुन् ।
यससँगै गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य भएको मन्त्री भगवती न्यौपानेको दाबी छ ।
मन्त्री भगवती न्यौपानेका अनुसार, स्थानीय तह पुनर्संरचना पछि पहिलोपटक पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको संख्या शून्य भएको हो ।
उनले भनिन्, “मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ७५३ मध्ये २०० पालिका निमित्तका भरमा सञ्चालन भइरहेका थिए । आजदेखि देशभरका सबै गाउँपालिका र नगरपालिकामा स्थायी प्रशासकीय नेतृत्व सुनिश्चित भएको छ ।”
यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आएका थिए । तर, नयाँ निर्णयपछि ती सबै पालिकामा दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत खटाइएकाले अब स्थानीय सरकार सञ्चालनमा स्थायित्व, पारदर्शिता र जवाफदेहिता बढ्ने अपेक्षा गरिएको छ ।