दाङ । अछाममा रजस्वलाको बेला त्रिपालले बारेर बनाइएको छाउगोठमा सुतेका दुई जनाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् ।
पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखुलीमा पहिरोसँगै खसेको ढुंगाले लागेर ३५ वर्षीया निमा खनाल र ७ वर्षीया कविता भण्डारीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय अछामकाका अनुसार महिनावारी भएपछि गएराति निमा र रत्ना भण्डारी त्रिपालले बारिएको सोही छाउगोठमा सुत्न गएका थिए। उनीहरू छिमेकी हुन्।
कविता रत्नाकी छोरी हुन्। उनी पनि आमासँगै सुत्न छाउगोठ गएकी थिइन्। छाउगोठ घरबाट करिब ५० मिटरको दूरीमा रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान ५ बजे अविरल वर्षापछि आएको पहिरोसँगै खसेको ढुंगाले लागेपछि कविता र निमाको घटनास्थलमै मृत्यु भएको हो।
उनीहरुसँगै सुतेकी मृतक बालिकाकी आमा ३६ वर्षीया रत्ना भण्डारी गम्भीर घाइते छन् । उनको टाउकोमा चोट छ। उनलाई उपचारका लागि बारला स्वास्थ्य चौकी पठाइएको छ ।
पञ्चदेवल विनायक नगरपालिका–८ का वडा अध्यक्ष छत्रबहादुर शाहीका अनुसार महिनावारी बार्न भनेर दुवै जना महिला त्रिपालमुनि सुतेका थिए । रत्नाकी सात वर्षीया छोरी कविता भने आमासँगै सुतेकी थिइन् । मृतक खनाल र भण्डारी दुवै जना माइत आएका थिए ।