काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चिकित्सकलाई दिइएका जिम्मेवारी र नेतृत्व पदलाई परिणाममुखी बनाउनुपर्ने बताएका छन् ।
शुक्रबार कांग्रेसनिकट प्रजातान्त्रिक चिकित्सक संघ (डिडिए) को कार्यक्रममा बोल्दै उनले राजनीतिक आस्थाका आधारमा पाएका जिम्मेवारीलाई आलोचनाको विषय नबनाई, कामको प्रभावकारिताबाट प्रमाणित गर्नुपर्नेमा जोड दिए।
महामन्त्री थापाले डिडिएसँग आबद्ध चिकित्सकहरूले अस्पतालदेखि विभिन्न स्वास्थ्य इकाइको नेतृत्व सम्हालिरहेको उल्लेख गर्दै भने, “हामीलाई सबैभन्दा बढी लगाइने आरोप भनेकै आफ्नो मान्छेलाई मात्र पदमा नियुक्त गर्यो भन्ने हो। तर, त्यो झोलेहरूले जिम्मेवारी सम्हाल्दा परिणाम देखाइदिए भने त्यस्ता आरोप आफैं मेटिन्छन्।”
उनले संगठनसँग आबद्ध चिकित्सकहरूले पाएको अवसरलाई पेशागत इमानदारी र जनहितमा प्रयोग गर्नुपर्नेमा पनि जोड दिए। “नेतृत्व पदमा पुगेपछि आफ्नो क्षमता र दृष्टिकोण देखाएर मात्र आलोचनालाई जवाफ दिन सकिन्छ,” उनले भने।
थापाले चिकित्सकहरूले देखाउने नतिजाले पार्टी र संघको छवि मजबुत हुने विश्वास व्यक्त गरे।