एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वउपराष्ट्रपति कमला ह्यारिसको लागि गोप्य सेवा सुरक्षा खारेज गरेका छन् ।
राष्ट्रपति ट्रम्पले पूर्वउपराष्ट्रपति कमला ह्यारिसको लागि दिइँदै आएको गोप्य सेवा सुरक्षा खारेज गरेका हुन् ।
अमेरिकी कानुनअनुसार, पद छाडेका उपराष्ट्रपतिहरूले कम्तीमा ६ महिनासम्म गोप्य सेवाको सुरक्षा पाउने व्यवस्था हुन्छ। तर तत्कालीन राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको अन्त्यतिर आदेश जारी गरी यो अवधि एक वर्षका लागि थपेका थिए।
यही प्रावधानलाई उल्टाउँदै ट्रम्पले हालै एक ज्ञापन जारी गरे, जसअनुसार ह्यारिसलाई दिइँदै आएको अतिरिक्त सुरक्षा आगामी सेप्टेम्बर १, २०२५ बाट समाप्त हुनेछ।
यसपछि ह्यारिससँग लस एन्जलसस्थित उनको घर र सम्पत्तिको सुरक्षा गर्न कुनै सरकारी एजेन्ट तोकिने छैनन्। साथै, सम्भावित खतराहरू पहिचान वा रोकथामका लागि भइरहेको गुप्तचर निगरानी पनि अब नहुनेछ।
गत राष्ट्रपति चुनावमा कमला ह्यारिस ट्रम्पविरुद्ध डेमोक्र्याटिक उम्मेदवारका रूपमा मैदानमा उत्रिएकी थिइन्।