काठमाडौँ । जेनजी प्रदर्शन हिंसात्मक बनेपछि उत्पन्न तनावका बीच प्रहरीले सोमबार राति कर्फ्यू जारी रहेकै अवस्थामा घर–घर सर्च अपरेशन गरेको छ ।
सूत्रका अनुसार, सुरक्षाकर्मीहरूले बानेश्वर र आसपासका क्षेत्रमा प्रवेश गरी प्रदर्शनमा संलग्न भएको आशंकामा दर्जनौं युवालाई पक्राउ गरेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो र तस्बिरहरूमा दंगा नियन्त्रण प्रहरीको टोली आवासीय भवनमा प्रवेश गर्दै गरेको देखिन्छ ।
स्थानीय बासिन्दाहरूले प्रहरीले बिना वारेन्ट घरभित्र पसेर जथाभावी धरपकड गरेको गुनासो गरेका छन्। प्रहरीले भिडियो फुटेज र अन्य प्रमाणको आधारमा शंकास्पद व्यक्तिहरूको खोजी गरिरहेको बताइएको छ।
सोमबार भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जना प्रदर्शनकारीको मृत्यु भएपछि बानेश्वर क्षेत्रमा तनाव व्यापक छ । कर्फ्यू जारी राखेर सरकारले स्थिति नियन्त्रणमा लिन खोजेको छ ।