एजेन्सी । चीनले अमेरिकालाई जापानमा तैनाथ गरिएको मिड–रेन्ज ‘टाइफुन’ मिसाइल प्रणाली तत्काल हटाउन चेतावनी दिएको छ । चीनले यो कदमले एशियाली क्षेत्रको रणनीतिक सुरक्षामा गम्भीर खतरा बढाउने दाबी गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले संयुक्त सैन्य अभ्यासको नाममा अमेरिका र जापानले चीनको सुरक्षा चिन्तालाई बेवास्ता गर्दै मिसाइल प्रणाली तैनाथ गरेको आरोप लगाए ।
उनका अनुसार जमिनबाट प्रक्षेपण हुने यो मिसाइल प्रणालीले दुई हजार किलोमिटर दायरा भित्र प्रहार गर्न सक्छ, जसले दक्षिण चीन सागर, ताइवान स्ट्रेट र चीनका दक्षिणी भागहरूलाई समेत निसाना बनाउन सक्नेछ ।
लिनले भने, 'एसियाली मुलुकहरूमा अमेरिकी टाइफुन मिसाइलको तैनाथीले अन्य देशका लागि खतरा मात्र होइन, यसले हतियार दौड र सैन्य टकरावको सम्भावना समेत बढाउँछ । यसले क्षेत्रीय रणनीतिक सुरक्षामा गहिरो असर पार्नेछ ।'
उनीहरुले अमेरिका र जापानलाई अन्य मुलुकहरूको सुरक्षा चिन्ताको सम्मान गर्न र क्षेत्रीय शान्ति तथा स्थिरताका लागि सकारात्मक भूमिका खेल्न आग्रह गरेका छन् ।