काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले हालसालैको राजनीतिक उथलपुथल र जेनजी आन्दोलनसँग जोडिएका घटनाक्रमलाई विदेशी शक्ति र जासुसी एजेन्सीहरूको योजनासँग सम्बन्धित रहेको दाबी गरेका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत नेता बस्नेतले यस्तो दाबी गरेका हुन् ।
उनका अनुसार, अन्तर्राष्ट्रिय शक्ति समूहको दबाबमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीको रूपमा उत्थान गराइएको हो, जसले नेपालको सार्वभौमिकता र स्वाधीनतामा दीर्घकालीन खतरा निम्त्याउने जोखिम बोकेको छ ।
बस्नेतले चेतावनी दिँदै भने, 'हाम्रो जेनजी पुस्ता नजानिँदो रूपमा Black Color Revolution मा प्रयोग गरिएको छ। यदि यी प्रयास सफल भए, नेपाल विदेशी शक्तिको असमान प्रभुत्व र साम्राज्यवादको चपेटामा पर्न सक्नेछ। त्यस्तो परिस्थितिमा भावी पुस्ताले जेनजीलाई धिक्कार्नेछ ।'
उनले कांग्रेस, एमाले र माओवादी पार्टीको भ्रष्टाचार र अक्षमताले रोजगारीको ग्यारेन्टी दिन नसक्दा सुरु भएको आन्दोलनले सरकार ढाल्ने अवस्था आएको स्मरण गरे । तर, बस्नेतका अनुसार, कानुनी र लोकतान्त्रिक बाटोबाट मात्र नेपालको स्वतन्त्रता, भविष्य र विकास सम्भव छ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व क्षमताको प्रशंसा गर्दै बस्नेतले भने, 'समय आएपछि सबै रहस्यका पर्दा खुल्नेछन्। नेपाली जनताले बुझ्नेछन् कि ओली पूर्व होइन, अपूर्व प्रधानमन्त्री हुन्। उनले चुनौतीपूर्ण घडीमा साहस, निर्णय र नेतृत्वको अद्वितीय उदाहरण प्रस्तुत गर्ने क्षमता राख्दथे।'