काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको अपेक्षाअनुसार पूरा गर्न नसकेको स्वीकार गर्दै निश्चित विधि र प्रक्रियामार्फत् नेतृत्व हस्तान्तरण गर्ने संकेत गरेका छन् ।
जेनजी आन्दोलनपछि पहिलोपटक भिडियो सन्देश सार्वजनिक गर्दै प्रचण्डले आफूहरू सधैं भ्रष्टाचार र कुशासनविरुद्ध लडिरहे पनि गठबन्धनको बाध्यताले प्रभावकारी ढंगले काम गर्न नसकेको बताएका हुन् ।
‘गठबन्धनको बाध्यात्मक राजनीतिले हामीलाई कतै न कतै कमजोर बनायो। तर हामीले राष्ट्रघाती सम्झौता गरेका छैनौं, कुनै काण्डमा मुछिएका छैनौं, भ्रष्टाचारविरुद्ध निरन्तर जुधिरहेकै छौं। जनताको अपेक्षासँग तुलना गर्दा भने हामी कमजोर देखियौं,’ प्रचण्डले भने।
उनले जनताप्रति कटिबद्धता दोहोर्याउँदै नेतृत्व हस्तान्तरणबारे छलफल सुरु भएको जानकारीसमेत दिए। ‘हामीले निश्चित विधि र प्रक्रियामा नेतृत्व हस्तान्तरणबारे छलफल गरिरहेका छौं। लोकतन्त्रको यो झण्डामा सबैभन्दा धेरै रगत हाम्रै छ। जनतासँग प्रत्यक्ष सम्बन्ध कायम गरेरै हामी यसको रक्षा गर्नेछौं,’ उनका शब्द थिए।
संविधान दिवसको अवसर पारेर उनले व्यवहारमा चुकिएको स्वीकार गरे । ‘हामीले गलत विचार र नीति लिएका होइनौं, तर व्यवहारमा कतै न कतै चुक्यौं। वर्ग र समुदायसँगको जीवन्त सम्बन्ध कमजोर भयो। सहिद परिवार, बेपत्ता परिवार, घाइते, अपाङ्ग र यातनापीडित साथीहरूका अपेक्षा पूरा गर्न अल्मलियौं,’ प्रचण्डले भने।