काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेनजी आन्दोलनलाई लिएर आत्मसमिक्षा गर्दै सार्वजनिक क्षमायाचना गरेका छन् ।
संविधान दिवसको अवसरमा शुक्रबार जारी सन्देशमार्फत उनले विगतमा पार्टीका रूपमा र व्यक्तिगत रूपमा भएका गल्ती, कमजोरी र भूलप्रति माफी मागेका हुन् ।
आन्दोलनका क्रममा सहिद बनेका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पौडेलले शोकसंतप्त परिवारप्रति समवेदना व्यक्त गरे। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्सँग शान्ति, सुशासन, भ्रष्टाचार नियन्त्रण, पुनर्निर्माण र तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने अपेक्षा राखे ।
उनले जेनजी आन्दोलनमा भएको हिंसा, हत्या, तोडफोड र आगजनीलाई निन्दनीय बताउँदै घटनाको निष्पक्ष छानबिन गर्न र दोषीमाथि कानुनअनुसार कारबाही गर्न माग गरे। साथै क्षतिग्रस्त सार्वजनिक तथा निजी संरचनाको यथाशीघ्र पुनर्निर्माण गर्न सरकारसँग आग्रह गरे।
पौडेलका अनुसार आन्दोलनका मूल कारणहरूमा युवा पुस्ताको आकांक्षा र असन्तुष्टिलाई सम्बोधन गर्न नसक्नु, भ्रष्टाचार नियन्त्रणमा असफलता र सुशासन तथा सेवाप्रवाहमा सुधार हुन नसक्नु पर्दछन्। 'युवा पुस्ताको आक्रोशलाई सम्बोधन गर्न नसक्नु हाम्रो साझा कमजोरी हो,' उनले भने।
एमाले उपाध्यक्षले अब पार्टीले संगठन, कार्यशैली र आचरणमा परिवर्तन गर्दै युवाशक्तिको निर्णायक योगदान सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे। “हामी जनता, विशेषगरी युवा पुस्तासँग एकाकार भई गतिशील र परिवर्तनको संवाहक शक्तिको रूपमा स्थापित हुनेछौं,” उनले विश्वास व्यक्त गरे।