विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान परिस्थितिबाट मुलुकलाई निकास दिने एक मात्र उपाय निर्वाचन भएको बताएका छन्।
शनिबार विराटनगरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले भने, 'राष्ट्रपतिले संविधानलाई थोरै क्षति गरेर भए पनि देशलाई निकास दिनु भएको छ। अब चुनावमा जानुको विकल्प छैन।'
कोइरालाले पार्टी कार्यकर्तालाई आगामी निर्वाचनका लागि तयार रहन आह्वान गर्दै लोकतन्त्रको रक्षा र संस्थागत विकासमा कांग्रेस अग्रणी रहने विश्वास व्यक्त गरे।
उनले भने, 'कोइराला निवासले लोकतन्त्रका लागि सधैं योगदान दिएको छ, त्यो योगदान अझै निरन्तर रहनेछ।'
उनले कांग्रेस कसरी अगाडि बढ्ने भन्नेबारे पार्टीले चाँडै निर्णय गर्ने स्पष्ट गर्दै लोकतान्त्रिक पद्धति र मूल्यप्रति अडिग रहने प्रतिवद्धता जनाए।