काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बनेका सडकहरू विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र सडक खुल्ने गरी काम अगाडी बढाएको बताएका छन् ।
शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको बैठकमा उनले चाडपर्वमा यातायात सहज बनाउनेगरी सडक विभागले काम गरिरहेको जानकारी दिएका हुन् ।
सचिव शर्मा चाडपर्वमा यातायात सहज बनाउने गरी सडक विभागले काम गरिरहेको बताए। हाल मौसमका कारण सडक अवरुद्ध भएको उल्लेख गर्दै उनले सडक खुलाउन मन्त्रालय र सडक विभागको टिम सक्रिय रहेको बताए।
सचिव शर्माले पृथ्वी राजमार्ग र मुग्लिङ खण्डको तुइन खोलामा रातिदेखि सडकको काम रोकिएको बताए। उनका अनुसार उक्त स्थानमा बिहान सुख्खा पहिरो समेत खसेको छ। पहिरो सक्रिय अवस्थामा रहेको बेलामा भने काम गर्न नसकिने उनको भनाइ छ । सो स्थानमा पहिरो सफा गर्न सडक विभागको टोली पुगिसकेको उनले बताए।
सडक सफा गर्न शुरु गरेको ४ घण्टामा सो सडक खुल्ने सचिव शर्माको दाबी छ । उनले सडक विभागले आधा घण्टादेखि एक घण्टाभित्र घटनास्थलमा पुग्ने गरी मेसिन राखेको पनि जानकारी दिए।
सचिव शर्माले भने- 'पृथ्वी राजमार्ग र मुग्लिङ नाराणघाट सडकमा हिजोदेखि तुइन खोला भन्ने ठाउँमा हिजो राती चाहिँ हामीले रोकेको हो । राती ढुङ्गा खस्यो, पहिरो खसेको खस्यै गरेपछि मेसिनको अपरेटरहरूलाई ढुंगा आएर लाग्यो भने अरु समस्या हुन्छ भनेर रोकेको हो। बिहान फेरि त्यहाँ सुख्खा पहिरो खस्यो । अब सडक विभागले आधा घण्टादेखि एक घण्टासम्म त्यो ठाउँमा मेसिन पुग्ने, हाम्रो एलटमेन्ट त्यसैगरी छ । हाम्रो ईक्वीमेन्टहरू चाहिँ हाईवेको सम्पूर्ण ठाउँमा आधा घण्टादेखि एक घण्टासम्म त्यो स्थलमा पुग्न भ्याउँछ, त्यसरी हामीले मेसिन राखेका छौँ ।'
बैठकमा मन्त्री घिसिङले चाडपर्वमा यातायात सहज बनाउन कसरी फास्ट ट्रयाकमा काम गर्ने भनेर आन्तरिक छलफलपछि समस्या समाधान गरिने बताए। बैठकमा सहभागी यातायात व्यवसायीहरूले रात्रीबस दिउँसो चलाउन माग गरेका थिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पहिरो बाढी पहिरोका कारण अहिलेको परिस्थिति नाजुक रहेको बताउँदै रातको समयमा चल्ने बसलाई दिउँसो चलाउनु उपयुक्त हुने बताएका थिए । बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घलगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।
चाडबाड लक्षित यातायात व्यवस्थापनबारे यस्ता छन् ७ वटा निर्णय
निर्णय नं. १ – दशैं अवधिमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुबाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्गमार्फत मात्र बाहिर जान दिने, दशैंपछि भने पुनः प्रवेशको व्यवस्था गर्न सम्बन्धित पक्षसँग छलफल गर्ने।
निर्णय नं. २ – नयाँ बसपार्कसहित मुलुकका विभिन्न राजमार्गमा सुरक्षा चुस्त बनाउन प्रहरी गस्ती बढाउने र अतिरिक्त प्रहरी परिचालन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने।
निर्णय नं. ३ – बुटवल–नारायणघाट सडक खण्डको दाउन्ने क्षेत्रमा दशैं अवधिभर ठूला मालवाहक सवारी ९१२ चक्के वा सोभन्दा माथि० सञ्चालन नगर्ने, तर खाद्यान्नलगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई भने निरन्तर सञ्चालन हुने व्यवस्था मिलाउने।
निर्णय नं. ४ – देशभरका मुख्य सडकलाई स्तरोन्नति तथा सुधार गर्ने, पहिरोजस्ता विपद व्यवस्थापनका लागि आवश्यक सामग्री तथा उपकरण व्यवस्थापन गर्ने, बुटवल–नारायणघाट सडक खण्डमा २४ घण्टा दुईतर्फी यातायात सञ्चालन गर्ने, नारायणघाट–मुग्लिन सडकको तुइन खोला क्षेत्रमा भएको अवरोध तत्काल हटाई सञ्चालनमा ल्याउने र तातोपानी नाकासम्मको मुख्य सडक दशैंअघि सञ्चालनमा ल्याउने गरी सडक विभागलाई निर्देशन दिने।
निर्णय नं. ५ – नागरिकलाई मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गर्दै सार्वजनिक सूचना जारी गर्ने।
निर्णय नं. ६ – सार्वजनिक सवारी साधनलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि तथा निर्देशिका तयार गरी छिट्टै मन्त्रालयमा पेश गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने।
निर्णय नं. ७ – देशभरका सडक अवस्थाबारे २४ घण्टा निगरानी गर्न, आवश्यक समन्वय र व्यवस्थापनका लागि फोकल पर्सनसहित कन्ट्रोल रुम सञ्चालनमा ल्याउन सडक विभागलाई निर्देशन दिने।