चितवन । गएरातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडक आज बिहान ५ बजेदेखि यातायात एकतर्फी सञ्चालन भएको छ।
इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो ।
पहिरोका कारण शुक्रबार साँझदेखि बन्द रहेको सडक आइतबार दिउँसो अबेर मात्र एकतर्फी सञ्चालनमा आएको हो।
आइतबार साँझ ८ बजे पुनः पहिरो खसेपछि राति नै पन्छाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
सडकखण्डमा सवारीसाधनको धेरै चाप रहेका कारण आफ्नो लेन प्रयोग गरेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । दुई दिनदेखि सडकमा अलपत्र परेका यात्रु गन्तव्यमा जान थालेका छन् ।