Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

लद्दाखमा पूर्ण राज्यको माग गर्दै नेपालकै जेनजी शैलीमा बिरोध प्रदर्शन

लद्दाखमा पूर्ण राज्यको माग गर्दै नेपालकै जेनजी शैलीमा बिरोध प्रदर्शन

बिहिवार , आश्विन ९, २०८२

एजेन्सी । भारतीय केन्द्र शासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिन माग गर्दै बुधबार लद्दाखको मुख्य सहर लेहमै हिंस्रक प्रदर्शन भएको छ ।

प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा विद्यार्थीहरूले भारतीय जनता पार्टी (भाजपा) कार्यालय र सुरक्षाकर्मीको गाडीमा आगजनी गरेका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनकारीहरूले सरकारी सम्पत्तिमा तोडफोडसमेत गरेका छन्।

यो आन्दोलन सामाजिक अभियन्ता सोनम वाङ्गचुकको समर्थनमा भइरहेको हो। वाङ्गचुक १५ दिनदेखि भोकहड्तालमा छन् भने लेहमै ३५ दिनदेखि अनसन जारी राखेका छन्। उनले यस आन्दोलनलाई 'युवाहरूको आक्रोस र जेन जेड रिभोलुसन' का रूपमा व्याख्या गरेका छन् ।

सरकारी स्रोतहरूले सोनम वाङचुकको एजेन्डा सुरुदेखि नै स्पष्ट उल्लेख गरेका छन् । उनले खुलेआम लद्दाखमा अरब स्प्रिंग जस्तो आन्दोलन ल्याउने कुरा गरे र नेपालका युवाहरूले गरेको विरोधको प्रशंसा गरे।

आफ्नो व्यक्तिगत आर्थिक अनियमितताबाट ध्यान हटाउन उनले युवाहरूलाई प्रयोग गरेको आरोप छ। आफ्नो फाइदाको लागि, उनले लद्दाखका युवाहरूलाई ढालको रूपमा प्रयोग गरे र उनीहरूलाई सडकमा निस्कन बाध्य पारे ।

प्रदर्शनकारीहरूले लद्दाखलाई पूर्ण राज्यको मान्यता दिनुपर्ने, कारगिल र लेहका लागि छुट्टै लोकसभा सिट सुनिश्चित गर्नुपर्ने, सरकारी जागिरमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने लगायतका माग अघि सारेका छन्। यस विषयमा छलफल गर्न दिल्लीमा आगामी अक्टोबर ८ का लागि बैठक बोलाइएको छ ।

सन् २०१९ मा भारत सरकारले संविधानको धारा ३७० र ३५ (ए) खारेज गर्दै जम्मु–काश्मीरलाई दुई टुक्रा पारेको थियो। त्यसपश्चात जम्मु–काश्मीर र लद्दाखलाई केन्द्र शासित प्रदेशमा परिणत गरिएको थियो। त्यसबेला सरकारले परिस्थिती सामान्य भएपछि लद्दाखलाई पूर्ण राज्यको दर्जा दिने आश्वासन दिएको थियो।

तर अझै कार्यान्वयन नभएकाले असन्तोष बढेको हो । मंगलबार रातिदेखि सामाजिक सञ्जालमार्फत प्रदर्शनको तयारी गरिएको थियो।

बुधबार बिहानै हजारौँ प्रदर्शनकारीहरू लेहस्थित मुख्य प्रशासनिक केन्द्र हिल काउन्सिलको कार्यालयतर्फ अगाडि बढेपछि प्रहरीले बल प्रयोग गर्यो। त्यसपछि स्थिति हिंस्रक बन्दै गएको हो।

को हुन् सोनम वाङ्गचुक ?

५९ वर्षीय इन्जिनियर र सामाजिक अभियन्ता सोनम वाङ्गचुकमाथि नै लोकप्रिय बलिउड चलचित्र थ्री इडियट्स को पात्र आधारित गरिएको मानिन्छ। उनी ग्लोबल अवार्ड फर सस्टेनेबल आर्किटेक्चर, रियल हीरोज अवार्डलगायत अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन्।

वाङ्गचुक पछिल्ला १८ महिनादेखि लगातार आन्दोलनरत छन्। उनले २०२४ मार्चमा २१ दिन लामो आमरण अनसन गरेका थिए भने गत वर्ष सेप्टेम्बरमा लेहदेखि दिल्लीसम्म पदयात्रा गरेका थिए।

दिल्लीको सिमानामा उनलाई पक्राउसमेत गरिएको थियो । त्यसयता केन्द्र सरकारले पटक–पटक वार्ताको आश्वासन दिँदै आएको छ, तर ठोस नतिजा नआएकाले आन्दोलन थप तीव्र बनेको हो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077