काठमाडौं । अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको सुरुवात गरेको छ ।
शुक्रबारबाट मन्त्रालयको कार्यालय व्यवस्थापन प्रणालीबाट फाइल स्वीकृत गर्ने प्रक्रिया अर्थमन्त्री रामेश्वर खनालले शुभारम्भ गरेका हुन ।
सरकारी निकायबाट सम्पादन हुने कार्यहरूलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी रूपमा सम्पादन गरी कागजरहित बनाउने योजनाअनुरूप उक्त प्रणाली सुरुवात गरेको अर्थमन्त्री खनालले बताएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागद्वारा विकास गरिएको एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको प्रयोगलाई अर्थ मन्त्रालयमा समेत अनिवार्य गरिएको छ ।
उक्त व्यवस्थापन प्रणाली प्रयोग गरी विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठी पत्रको दर्ता तथा चलानी, हाजिरी, बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापन लगायतका कार्य अनिवार्य रूपमा विद्युतीय हस्ताक्षरको प्रयोग गरी सम्पादन गर्नुपर्ने गरी व्यवस्था गरिएको छ ।
अबदेखि आन्तरिक फाइलिङ, टिप्पणी तथा स्वीकृति लिन-दिने कार्य अनलाइन प्लेटफर्ममार्फत मात्र हुने छ। यसले समय, लागत र श्रम बचतसँगै निर्णय प्रक्रियामा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ ।