एजेन्सी । अमेरिकाले कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोको भिसा रद्द गर्ने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयले उनलाई न्युयोर्कमा अमेरिकी सैनिकलाई सरकारको आदेशको उल्लंघन गर्न उक्साएको आरोप लगाएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका पेट्रोले शुक्रबार न्युयोर्कको सडकमा मेगाफोन प्रयोग गरी भीडलाई सम्बोधन गरेका थिए ।
अमेरिकाको विदेश मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै भनेको छ, 'पेट्रोले अमेरिकी सैनिकलाई हिंसा भड्काउन र सरकारको आदेश उलङ्घन गर्न सार्वजनिक रूपमा आग्रह गरेका छन्। उनको लापरवाह र उत्तेजक कार्यका कारण भिसा तत्काल प्रभावले रद्द गरिनेछ ।'
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा पेट्रो स्पेनिस भाषामा बोलिरहेका छन् भने अनुवादकले सैनिकलाई अमेरिकाभन्दा ठूलो सेनाका लागि योगदान गर्न आह्वान गरिरहेको सुनिन्छ ।
उनले भनेका छन्, 'यहाँ न्युयोर्कबाट म अमेरिकी सैनिकहरूलाई अनुरोध गर्दछु—तपाईंहरूले आफ्ना राइफलहरू मानवतामाथि नखोल्नुहोस्। ट्रम्पको आदेशको उल्लंघन गर्नुहोस्, मानवताको आदेशको पालना गर्नुहोस्।'