काठमाडौं । जेनजी युवा आन्दोलनको क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण सुरु गरिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले अस्पतालमै पुगेर घाइतेहरुलाई भेटेर परिचय पत्र वितरण सुरु गरेका हुन् । जेनजी आन्दोलनमा देशभर करिब २३ सय जना घाइते भएको प्रारम्भिक तथ्यांक निकालिएको छ।
त्यस्तै गृह मन्त्रालयको निर्णय बमोजिम घाइतेहरूको उपचार गर्न सरकारले डेडिकेटेड अस्पतालहरुमा डेडिकेटेड जेनजी क्लिनिक समेत स्थापना गरिएको छ । काठमाडौं उपत्यकासहित देशभरका १६ अस्पतालहरुमा जेनजी क्लिनिक स्थापना गरिएको हो ।
पुनः परीक्षणमा जानुपर्ने घाइतेलाई आवतजावतका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था पनि मिलाइएको छ ।
एम्बुलेन्स नभएको अवस्थामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को समन्वय गरी सवारी साधन पठाउने व्यवस्था मिलाइने स्रोतले जानकारी दियो।
जेनजी आन्दोलनका घाइतेहरुको उपचारमा सहजताका लागि अस्पतालहरुमा सम्पर्क व्यक्तिसमेत तोकिएको छ ।
यस्ता घाइतेको मात्रै उपचार गर्न अस्पतालमा जेनजी क्लिनिक स्थापना गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।