एजेन्सी । क्यानडा सरकारले भारतीय मूलको कुख्यात अपराधी लरेन्स बिश्नोई नेतृत्वको गिरोहलाई आधिकारिक रूपमा आतंकवादी संगठन घोषणा गरेको छ।
सोमबार सार्वजनिक सुरक्षा मन्त्री ग्यारी आनन्दसाङ्गरीले पत्रकार सम्मेलनमार्फत यो निर्णय सार्वजनिक गर्दै बिश्नोई गिरोहले क्यानडाका आप्रवासी समुदायहरूमा त्रास फैलाउँदै आएको आरोप लगाए ।
‘यस गिरोहलाई आतंकवादी संगठन घोषणा गर्नाले हामीलाई उनीहरूको अपराध रोक्न र लड्न बलियो र प्रभावकारी विधिहरू विकास गर्न मद्दत गर्नेछ,’ मन्त्री आनन्दसाङ्गरीले भने।
यस निर्णयसँगै क्यानडा सरकारलाई बिश्नोई गिरोहका सम्पत्ति जफत गर्ने, कोष फ्रिज गर्ने तथा उनीहरूको गतिविधि नियन्त्रणमा लिन कानूनी अधिकार प्राप्त भएको छ ।
गत वर्ष क्यानाडाली प्रहरीले भारतीय सरकारी निकायहरूलाई बिश्नोई गिरोहका सदस्यहरूलाई हत्या, जबरजस्ती चन्दा असुली र हिंसात्मक गतिविधि मा प्रयोग गरेको आरोप लगाएको थियो । तर भारतले ती आरोप अस्वीकार गर्दै क्यानडाले प्रमाण प्रस्तुत नगरेको दाबी गरेको थियो।
३२ वर्षीय लरेन्स बिश्नोई एक दशकदेखि भारतमा जेल जीवन बिताइरहेका छन्। तर उनको गिरोह दक्षिण एशियाली आप्रवासी बढी रहेका क्यानडाका विभिन्न क्षेत्रमा सक्रिय रहेको बताइएको छ ।