काठमाडौं। स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई विधिवत् रूपमा जीवित देवी (कुमारी) को आसन ग्रहण सम्पन्न भएको छ।
नवघोषित कुमारी शाक्यलाई आज मध्याह्नको शुभसाइतमा विधि विधानपूर्वक कुमारी घर प्रवेश गराई आसन ग्रहण गराइएको हो ।
विशेष बाजागाजासहित कुमारी घरमा विधिवत् रूपमा आसन ग्रहण गराएपछि उनलाई तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराउने तयारी गरिएको छ ।
जीवित देवीका रूपमा पूजाआजा गरिने कुमारीलाई महालक्ष्मीको प्रतीक मानिन्छ । कुमारी छनोटको विधिवत् प्रक्रिया पूरा गरेपछि आर्यतारालाई नयाँ कुमारीका रूपमा चयन गरिएको हो ।
यससँगै यसअघिकी कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिएको छ।
कुमारी प्रथा काठमाडौँ उपत्यकाको एक जीवन्त र महत्त्वपूर्ण सांस्कृतिक परम्परा हो। जहाँ बालिकालाई तलेजु भवानीको प्रतीकका रूपमा पूजा गरिन्छ ।
