काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षति सम्बन्धी घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको म्याद २५ दिन थप्ने निर्णय गरेको छ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो पटक आयोगको समयावधि थप गर्ने निर्णय गरेको हो । आयोगको दोस्रो पटक थपिएको म्याद माघ २८ गते बुधबार सकिँदै थियो ।
नेपाल सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्याल ले आयोगको म्याद पुनः थपिएको जानकारी दिए।
सरकारले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिनका लागि विशेष अदालतका पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो। आयोगलाई सुरुमा तीन महिनाको कार्यादेश दिइएको थियो।
तर, आयोगले निर्धारित समयभित्र काम पूरा गर्न नसकेपछि पुस ८ गते एक महिना म्याद थप गरिएको थियो। त्यसपछि पनि प्रतिवेदन बुझाउन नसकेपछि माघ ८ गते पुनः २० दिन थप गरिएको थियो।
दोस्रो पटक थपिएको म्यादभित्र पनि आयोगले प्रतिवेदन बुझाउन नसकेपछि सरकारले सोमबार तेस्रो पटक २५ दिन म्याद थप्ने निर्णय गरेको हो।