काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी पाँच वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी प्रतिबद्धता सार्वजनिक गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमार्फत नेकपाले आगामी पाँच वर्षभित्र राष्ट्रिय विद्युत् प्रणालीको क्षमता १५ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको जनाएको हो ।
त्यसैगरी नेकपाले सन् २१०० सम्म ४० हजार मेगावाट विद्युत् उत्पादन गर्ने दीर्घकालीन लक्ष्य प्रस्तुत गर्दै शतप्रतिशत हरित ऊर्जा उपयोग गर्ने देशका रूपमा नेपाललाई घोषणा गर्ने योजना अघि सारेको छ ।
नवीकरणीय ऊर्जा मिश्रण उल्लेखनीय रूपमा बढाउने प्रतिबद्धतासहित पार्टीले ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरेको छ ।