काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
शुक्रबार मध्यरातसम्म सम्पन्न निर्वाचन प्रक्रियाबाट नयाँ कार्यसमिति टुंगिएको हो । संस्थाको विधानअनुसार मोहनकुमार डाँगी स्वतः अध्यक्ष बनेका हुन्।
ऊर्जा उत्पादन तथा निजी क्षेत्रको प्रतिनिधित्व गर्ने प्रमुख संस्थामध्ये एक इप्पानको नेतृत्व परिवर्तनसँगै ऊर्जा क्षेत्रको नीति–बहसमा नयाँ सक्रियता आउने अपेक्षा गरिएको छ।
वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन्। यस्तै उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुशन कर्माचार्य र हिमप्रसाद पाठक पनि निर्विरोध चयन भएका छन्।
महासचिव पदमा टेकनाथ आचार्य (टीएन आचार्य) र उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भएका छन्। सचिव पदमा अभिषा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी चयन भएका छन्।
कोषाध्यक्ष पदका लागि भने प्रतिस्पर्धात्मक निर्वाचन भएको थियो। उक्त पदमा शङ्कर बस्यालले २६७ मत प्राप्त गर्दै विजयी हासिल गरे। उनका प्रतिस्पर्धी मिथुन चक्रवर्तीप्रसाद पौडेलले ८२ मत प्राप्त गरे।
त्यसैगरी खुला सदस्यतर्फ अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का र वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन्।