काठमाडौं । राहदानी छपाइ ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको आशंकामा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई विशेष अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बेलुका दुवै जनालाई नियन्त्रणमा लिएपछि थप अनुसन्धानका लागि मंगलबार विशेष अदालतमा उपस्थित गराएको थियो।
अख्तियारको मागअनुसार विशेष अदालतले सोमबारदेखि लागू हुने गरी चार दिन हिरासतमा राख्न अनुमति दिएको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।
राहदानी छपाइका लागि गरिएको ठेक्का प्रक्रियामा अनियमितता तथा भ्रष्टाचार भएको आरोपमा अख्तियारले अनुसन्धान अघि बढाएको छ। सोही अनुसन्धानको सिलसिलामा विभागका प्रमुख अर्याल र निर्देशक केसीलाई नियन्त्रणमा लिइएको हो।
अख्तियारले यसअघि नै राहदानी विभागबाट ठेक्कासम्बन्धी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएर अध्ययन गरिसकेको थियो।
कागजातहरूको प्रारम्भिक विश्लेषणपछि सम्बन्धित अधिकारीहरूसँग बयान लिने प्रक्रिया सुरु गरिएको र त्यसकै क्रममा दुवै अधिकारी पक्राउ परेका हुन्।
अनुसन्धान जारी रहेकाले अख्तियारले ठेक्का प्रक्रियामा संलग्न अन्य व्यक्तिको भूमिकाबारे पनि छानबिन गरिरहेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने अख्तियारको तयारी छ।