Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जम्मू कश्मीरमा शीतकालीन खेलकुद सुरु

    जम्मू कश्मीरमा शीतकालीन खेलकुद सुरु

    अनलाइन नेपाल
  • आइतबार, २५ फाल्गुन २०७६
  • 2K
    SHARES

    श्रीनगर । भारतको जम्मू कश्मीर राज्यस्थित गुलमार्गमा राष्ट्रिय शीतकालीन खेलकुद शुरु भएको छ । शनिबारबाट सुरु भएको खेलकुदमा ९ सयजनाभन्दा धेरै खेलाडी सहभागी छन् ।

    भारतले संविधानको धारा ३७० खारेज गरेपछि कश्मीरमा पहिलो पटक ठूलो स्तरको खेलकुद समारोहको आयोजना भएको हो । केन्द्रीय खेलकुदमन्त्री किरण रिजिजुले यस समारोहको उद्घाटन गरेका छन् ।



    यस समारोहको नाम ‘खेलो इण्डिया’ राखिएको छ । कार्यक्रमको उद्घाटन गर्दै खेलकुदमन्त्री रिजिजुले यस समारोहबाट खेलकुदको मात्र नभई त्यस क्षेत्रको पर्यटनको पनि प्रवद्र्धन हुन गई स्थानीय अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।



    जम्मू र कश्मीर खेलकुद काउन्सिल र केन्द्रिय युवा मामिला एवं खेलकुद मन्त्रालयको आयोजनामा सञ्चालित खेलकुद समारोहमा विभिन्न ४ विधाका ३० भन्दा धेरै खेलमा स्पर्धा हुने आयोजकले जनाएको छ ।

    त्यस्तै समारोहमा स्थानीय हस्तकला, टेक्सटाइल, काष्ठकलालगायतको प्रदर्शनीका साथै खानेकुराको स्टल र अन्य साँस्कृतिक प्रदर्शनी गरिने छ । यसअघि खेलकुदमन्त्री रिजिजुले शुक्रबार सो क्षेत्रमा सञ्चालित युवा शिविरमा युवाहरुसँग अन्तक्रिया कार्यक्रममा समेत सहभागि भएका थिए । उक्त कार्यक्रममा उनले २५० भन्दा धेरै युवाहरुलाई खेलकुद सामग्री समेत वितरण गरेका थिए ।

    भारतीय अधिकारीहरुले खेलकुद समारोहमार्फत् राष्ट्रिय एवं विश्वस्तरमा कश्मीरको सुन्दरताको प्रचार भई त्यस क्षेत्रमा पर्यटकको आवागमन बढ्ने विश्वास लिएका छन् । गुलमार्गलाई स्की गर्नका लागि विश्वकै सबैभन्दा उत्कृष्ट स्थान मानिन्छ ।

    त्यस क्षेत्रमा यो सिजन नोभेम्बर ६ बाट हिउँ पर्न थालेको थियो । यहाँ ५ फिटसम्म हिउँ पर्ने भएका कारण धेरै विदेशी पर्यटकहरु स्की गर्न आउने गरेका छन् ।
    त्यस्तै, यहाँ एशिया महादेशकै सबैभन्दा ठूलो र अग्लो स्थानमा केबलकार चल्ने गर्छ । ३९०० देखि ४१०० मिटरको उचाईसम्मको यस क्षेत्रबाट अफर्वत हिमालको सुन्दर दृश्यावलोकन समेत गर्न सकिन्छ ।

    गत अगष्ट महिनामा भारत सरकारले जम्मू कश्म्ीर राज्यलाई दिँदै आएको विशेष राज्यको मान्यता खारेज गरेसँगै त्यहाँको पर्यटन क्षेत्रमा ठूलो धक्का लाग्न पुगेको छ । धारा ३७० खारेज भएलगत्तै त्यस क्षेत्रमा रहेका २० देखि २५ हजार पर्यटकलाई सो क्षेत्र छाड्न आग्रह गरिएको थियो ।

    पछिल्ला ६ महिनामा थोरै मात्र पर्यटकले सो क्षेत्रका भ्रमण गरेका छन् । अगष्ट महिनाको पहिलो सातामै सो क्षेत्रका लागि जारी गरिएको भ्रमण चेतावनी फुकुवा गरिएपनि अझै पर्यटकको आवागमन बढेको छैन ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार