Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

डिआईजी विश्वराज पोखरेलले खटाएका घुमुवा पक्राउ

मकवानपुर । घुमुवा प्रहरीले आर्थिक चलखेल गरेको गुनासो बढेको भन्दै केही समय अघि महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले काठमाडौंको सेट नै परिवर्तन गरे ।

तर, डिआईजी पोखरेलले एसपी रेवती ढकालको कमाण्डमा खटाएको नयाँ सीआरभी टोली नै लुटपाट गर्दा गर्दै पालुङबाट पक्राउ परेको छ ।

इलाका प्रहरी कार्यालय पालुङका प्रमुख इन्सपेक्टर विकास तामाङले तीन जना प्रहरीसहित केही व्यक्ति पक्राउ परेको पुष्टि गरे पनि विस्तृत विवरण भने केही बेरमा पत्रकार सम्मेलन गरेर जानकारी गराउने अनलाइन नेपालसँग बताए ।

घर लुटपाटका लागि काठमाडौंबाट मकवानपुर पुगेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सीआरभी टोली पक्राउ परेको स्रोतको भनाई छ ।

पक्राउ पर्नेमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका असई सुरेन बस्याल र जवान हेमकान्त मगर तथा महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी जवान वीरबहादुर बस्नेत र पत्रकार भनिने सुजन आचार्य रहेका छन् ।

बस्नेतलाई घुमुवा प्रहरीको टोली परिवर्तन गर्दा हटाइएको भए पनि उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन र वनमन्त्री शक्तिबहादुर बस्नेतका भतिजा मुक्ति बस्नेतको सिफारिसमा पुनः सादा पोसाकमा डिआईजी पोखरेलले खटाएका थिए ।

मकवानपुरको कैलाश गाउँपालिकाकी धनलक्ष्मी गुरुङको घरमा लुटपाट गर्ने क्रममा उनीहरु पक्राउ परेको बताइएको छ ।

पाेखरेलमाथि कारबाही हाेला त ?

डिआईजी पोखरेलले पटक–पटक मातहतका प्रहरीलाई व्रिफिङ गर्ने क्रममा ‘अपराध अनुसन्धानमा कार्य गर्ने सम्पूर्ण कर्मचारीहरु कार्यगत रुपमा विशेष भएकाले यसको गम्भिर्यतालाई मनन गर्दै एउटा जवानले गल्ती गर्दा त्यसको जिम्मेवार कमाण्डर पनि हुनु पर्ने र त्यसले उन्मुक्ति नपाउने’ बताएका थिए । तर, अब लुटपाटमा मुछिएका प्रहरीहरु मात्रै कारबाहीमा पर्छन् कि पोखरेलमाथि पनि कारबाही होला ? विफिङ मात्रै होइन यसरी भाषण गर्ने डिआईजी पोखरेलमाथि अब प्रहरी प्रधान कार्यालयले कारबाही गर्न सक्ला त ?

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077