काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सत्ता प्राप्तिको दौडमा पार्टीले बीपी कोइरालाको मेलमिलापको नीतिलाई बिर्सँदा अहिलेको जटिल परिस्थिति सिर्जना भएको बताएका छन्।
बिहीबार बीपी स्मृति दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा बोल्दै यस्तो भनेका हुन् ।
'सत्ताका लागि हामीले बीपीको मेलमिलापको नीतिलाई किच्यौँ, त्यसैले आज हामीलाई गाह्रो बनाएको छ,' उनले भने ।
यसलाई औपचारिक भाषण गर्ने मात्र नभई इतिहासबाट पाठ सिक्दै गम्भीर निर्णय लिने समय आएको बताए।
आङ्देम्बेले जीवन्त राजनीतिक दलमा वैचारिक मतभेद स्वाभाविक भए पनि त्यसलाई आक्रोश र द्वेषमा रूपान्तरण गर्न नहुने धारणा राखे। उनका अनुसार मतभेदले विवेक र तर्कको आधारमा समाधान खोज्नुपर्ने भए पनि अहिले पार्टीभित्र अहंकार, गालीगलौज र ध्रुवीकरण बढ्दै गएको छ।
उनले संस्थापन इतर समूहको अघिल्लो दिनको कार्यक्रमप्रति संकेत गर्दै आफ्ना निकट व्यक्तिलाई मात्रै प्राथमिकता दिने प्रवृत्तिले पार्टीलाई कमजोर बनाएको टिप्पणी गरे।
अब कांग्रेसले तर्क, विवेक र आपसी विश्वासका आधारमा अघि बढ्दै नवीन अभियान सफल बनाउनुपर्नेमा उनले जोड दिए।
आङ्देम्बेले विगतमा सत्ता प्राप्तिका लागि कांग्रेसले बीपी कोइरालाको मेलमिलापको नीतिलाई बेवास्ता गरेको स्वीकार गर्दै त्यसकै परिणामस्वरूप पार्टी कठिन अवस्थामा पुगेको बताए। अब ती कमजोरी सच्याउँदै पार्टीलाई एकताबद्ध र सुदृढ बनाउने संकल्प गर्नुपर्ने उनको भनाइ थियो।