Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओली भन्छन्- वाम आन्दोलनले धक्का खाए पनि फेरि सशक्त रूपमा उठ्नेछौँ

ओली भन्छन्- वाम आन्दोलनले धक्का खाए पनि फेरि सशक्त रूपमा उठ्नेछौँ

बिहिवार , श्रावण ७, २०८३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा नेपालको वाम आन्दोलनले केही धक्का खाए पनि फेरि सशक्त रूपमा उठ्ने विश्वास व्यक्त गरेका छन्।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र नेपाली कांग्रेसका नेता बीपी कोइरालाको ४८औँ स्मृति दिवसका अवसरमा बिहीबार भिडियो सन्देश जारी गर्दै ओलीले दुवै नेताले नेपालको राजनीतिक, सामाजिक तथा लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गरेका हुन्।

ओलीले पुष्पलाललाई कम्युनिस्ट पार्टीका संस्थापक महासचिव मात्र नभई इतिहासका नयाँ व्याख्याता, वैचारिक चिन्तक र राजनीतिक साहित्यका प्रखर विश्लेषकका रूपमा चित्रण गरे। उनले पुष्पलालले मजदुर र किसानका मुद्दालाई राजनीतिक आन्दोलनसँग जोड्दै परिवर्तनको आधार तयार गरेको उल्लेख गरे।

त्यस्तै, बीपी कोइरालालाई बहुआयामिक व्यक्तित्व तथा नेपाली लोकतान्त्रिक आन्दोलनका शिखर नेताका रूपमा स्मरण गर्दै ओलीले दुवै नेताले आ-आफ्नो विचार र राजनीतिक यात्रामार्फत मुलुकको रूपान्तरणमा महत्वपूर्ण योगदान दिएको बताए।

'पुष्पलाल र बीपी नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनका महान हस्ती हुनुहुन्थ्यो । उहाँहरू दुवै नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनका बहुआयामिक र शिखर व्यक्तित्व हो, ‘उहाँहरू दुवैको आ(आफ्नो ठाउँमा नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा असाधारण योगदान छ। यस सन्दर्भमा उहाँहरूको योगदाको सम्मान गर्दै, योगदानहरूबाट सिक्दै अगाडि बड्ने प्रण गर्दछु,' ओलीले भनेका छन् ।

ओलीले तत्कालीन निरंकुश पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध लोकतान्त्रिक तथा प्रगतिशील शक्तिहरू एकजुट हुनुपर्ने पुष्पलालको नीति पछि २०४६ सालको जनआन्दोलनको आधार बनेको उल्लेख गरे। अहिले आन्दोलनले केही चुनौती र धक्का व्यहोरे पनि अग्रज नेताहरूको दूरदृष्टि, त्याग र विचारबाट प्रेरणा लिएर वाम आन्दोलन फेरि सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।

'अहिलेको अवस्थामा आन्दोलनले अलिकति धक्का खाए पनि यो आन्दोलन फेरि अघि बढ्नेछ । पुष्पलाल र बीपीबाट प्रेरणा लिएर हामी फेरि उठ्नेछौँ,' ओलीले थप भनेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077