'झन्डै दुई तिहाइ भनेका भरमा देश विरुद्धको गतिविधि गर्न रोक्नुपर्दछ '
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले गरेका कामहरु संविधानविपरित रहेको आरोप लगाएका छन् ।
आइतबार मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन्।
यसैगरी अहिलेको सरकारले संविधानविपरितका कामहरु गरेको आरोप लगाउँदै त्यसको विरुद्ध लड्नका लागि सबै वामपन्थी र लोकतान्त्रिक शक्तिहरु एक हुनुपर्नेमा जोड दिए ।
विश्वभरी नै वामपन्थी शक्तिहरुमाथि प्रहार भइरहेको भन्दै उनले नेपालमा मदन भण्डारीको जबजमा टेकेर वामपन्थी शक्तिहरुलाई एक बनाउन लाग्नुपर्ने उनको धारणा रहेको छ ।
उनले भने- 'यस प्रतिगमनलाई रोक्नका निम्ति सबै वामपन्थी शक्तिहरू, सबै लोकतान्त्रिक शक्तिहरू मिलेर अघि बढ्नुपर्छ। अब संविधान संशोधन गर्दा पनि देश र जनताको पक्षमा हुनुपर्दछ। झन्डै दुई तिहाइ भनेका भरमा देश विरुद्धको गतिविधि गर्न रोक्नुपर्दछ ।'
त्यसअघि बोलेका पूर्वप्रधानमन्त्रीत्रय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले वामपन्थी एकताको पक्षमा वकालत गरेका थिए । नेतात्रयले वामपन्थी एकता गर्न नसके आफूहरुको अस्तित्व मेटिँदै जाने टिप्पणी गरेका थिए ।
यसैगरी ओलीले जनता असन्तुष्ट हुनुपर्ने गरी आफूहरूले कुनै नराम्रो काम नगरेको जिकिर पनि गरे।
उनले थप भने, ‘हामीहरूमाथि अनेक प्रकारका आरोपहरू गढिए। जनता असन्तुष्ट हुनुपर्ने गरी हामीले कुनै बदमासी, कुनै नराम्रो काम गरेकै छैनौँ।
यस्तै ओलीले आफ्नो पार्टीको नीति सही भएको दाबी गरेका छन् ।
उनले भने- 'हाम्रा नीतिहरू सही छन्। त्यसैले एमाले कुनै एकताको लागि नीतिबारे गर्ने पक्षमा छैन। हामीले राजनीतिक, सामाजिक, आर्थिक, सामाजिक अनेक पक्षमा सही नीति निर्धारण गरेका छौँ।'