काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली मुलुकका लागि उपयुक्त नभएको तर्क गरेकी छन् ।
आइतबार मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो तर्फ गरेकी हुन् ।
संविधान संशोधनको सन्दर्भमा बेलाबेलामा उठ्ने गरेको प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रश्तावप्रति लक्षित गर्दै उनले नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुकमा यस्तो प्रणाली सान्दर्भिक नहुने उनको भनाई छ ।
उनले भनिन्- 'संविधान संशोधनको सन्दर्भमा बेलाबेलामा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन भन्ने मेरो विचार छ ।'
संविधान संशोधनका लागि वर्तमान सरकारले समिति गठन गरी गृहकार्य अगाडि बढाइसकेको सन्दर्भ जोड्दै उनले सरोकारवाला पक्षहरूलाई आफ्ना मुद्दामा राज्यको ध्यानाकर्षण गराउन सुझाव दिइन् ।
उनले थप भनिन्- 'संविधान संशोधनका लागि अहिले झन्डै दुईतिहाइ नजिकको समर्थन भएको सरकारले एउटा समिति गठन गरेको छ । त्यस समितिले गृहकार्य गरिरहेको कुरा पनि सार्वजनिक भइरहेको छ । यस्ता विषयमा पनि आफ्नो क्षेत्रको नेतृत्व गर्ने तपाईंहरूजस्ता साथीहरूले समयमै राज्यको ध्यानाकर्षण गराउनुपर्छ ।'