काठमाडौं । काठमाडौंबाट धनगढीतर्फ उडिरहेको श्री एयरलाइन्सको एउटा जहाजमा उडानकै क्रममा प्राविधिक समस्या देखिएपछि भैरहवामा आकस्मिक अवतरण गराइएको छ।
उडान नम्बर SHA 227 रहेको विमानले आइतबार अपराह्न करिब ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडान भरेको थियो।
उडान सुरु भएको केही समयमै जहाजको ककपिट क्षेत्रमा अचानक धुवाँ देखिएपछि चालक दलले तत्काल आपतकालीन सुरक्षा प्रक्रिया अपनाएको थियो।
स्थिति गम्भीर हुनसक्ने आकलन गर्दै पाइलटले विमानलाई सुरक्षित रूपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराएका हुन्।
विमानस्थल स्रोतका अनुसार जहाज सुरक्षित रूपमा अवतरण भएको छ भने जहाजमा सवार सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेका छन्।
घटनापछि प्राविधिक टोलीले विमानको विस्तृत परीक्षण सुरु गरेको छ। ककपिटमा धुवाँ देखिनुको वास्तविक कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।
यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउन श्री एयरलाइन्सले वैकल्पिक जहाज भैरहवा पठाइसकेको छ।
विमानस्थल प्रशासनका अनुसार रोकिएका यात्रुलाई सोही जहाजमार्फत धनगढीतर्फ पठाउने तयारी गरिएको छ।