कैलाली । कैलालीको अत्तरियास्थित एक होटलबाट २ किलोभन्दा बढी चरेस बरामद गर्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
आइतबार दिउँसो गोदावरी नगरपालिका–१ को अत्तरिया–धनगढी सडकखण्डमा रहेको ममता सेकुवा सेन्टरबाट २ किलो २०५ ग्राम चरेस बरामद भएको हो ।
पक्राउ पर्नेमा होटल सञ्चालक शंकरकुमार शाही रहेका छन् । उनी भागेश्वरी गाउँपालिका–३ का स्थायी बासिन्दा भई हाल गोदावरी नगरपालिका–१ मा बसोबास गर्दै आएका थिए।
यस्तै, ५२ वर्षीय मीनराज भट्ट, कृष्णपुर नगरपालिका–४ का स्थायी बासिन्दा भई हाल धनगढी उपमहानगरपालिका–१ मा बस्दै आएका थिए।
गोप्य सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय मालाखेती को संयुक्त टोलीले होटलमा छापा मारेर दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हीरा सिंह महराका अनुसार होटलको पछाडिपट्टि जस्तापाताले छाएको ट्रसभित्र लुकाइछिपाइ राखिएको अवस्थामा चरेसजस्तो देखिने कालो पदार्थ फेला पारिएको थियो ।
परीक्षणका क्रममा उक्त पदार्थको तौल २ किलो २०५ ग्राम रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको मालाखेती प्रहरीले जनाएको छ ।