पोखरा। जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीबाट फरार भएका अभियुक्त लागुऔषधसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१५ नयाँगाउँका ३३ वर्षीय नरेश गुरुङ रहेका छन्।
गुरुङलाई शनिबार बिहान इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो पोखराको टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार पोखरा महानगरपालिका-३२ मजुवास्थगित पृथ्वी राजमार्गमा ग २ ख १४११ नम्बरको सार्वजनिक सवारीसाधन चेकजाँचको क्रममा गुरुङ यात्रुबाहक बसबाट पक्राउ परेका थिए ।
गुरुङको साथबाट प्रहरीले ब्राउन सुगर ६ ग्राम र एक थान मोबाइल फोन बरामद गरेको छ ।
गुरुङ यसअघि पनि लागुऔषध मुद्दामा दुई वर्ष कैद र एक लाख जरिवाना भई जिल्ला कारागार कास्की चलान भएका थिए।
सोहीबमोजिम कारागार कार्यालय कास्कीमा कैद भुक्तान गरिरहेकै अवस्थामा उनी गत भदौ २४ गते जेन्जी आन्दोलनको मौका छोपेर भागेका थिए ।
गुरुङ पुनः लागूऔषधसहित पक्राउ परेपछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया बढाएको हो । पक्राउ परेका गुरुङलाई लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान गर्न जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइएको छ ।