काठमाडौं । लामो समयपछि चार जना वामपन्थी पूर्वप्रधानमन्त्रीहरु एउटै मञ्चमा देखिएका छन् ।
पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा शीर्ष कम्युनिस्ट नेताहरु एकैठाउँमा उभिएका छन्। भदौ २३ र २४ गते देशमा भएको जेनजी आन्दोलनपछि उनीहरु पहिलोपटक एउटै मञ्चमा देखिएका हुन् ।
मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल सँगै देखिएका हुन् ।
जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष ओली, नेकपाका संयोजक प्रचण्ड तथा सहसंयोजकद्वय नेपाल र खनाल एकैठाउँमा देखिएका हुन्।
राष्ट्रिय सभागृहमा जारी कार्यक्रममा मदन भण्डारी फाउण्डेशन राष्ट्रिय पुरस्कार लेखक रमेश रुछेन राईलाई प्रदान गरियो। सो पुरस्कार राशी दुई लाख रहेको जनाइएको छ।
फाउण्डेशनले आज राजधानीको राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिष्ट आन्दोलन र मदन भण्डारी विषयक विचार गोष्ठी तथा पुरस्कार वितरण समारोह’ आयोजना गरेको हो ।
कार्यक्रममा मदन भण्डारीबारे लेखिएको पुस्तक पनि विमोचन गरिएको हो ।
फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनमा धक्का खाएका कम्युनिस्टहरुको सहकार्यको लागि मदन भण्डारी फाउण्डेशन साझा मञ्च बनेको छ।
पछिल्लो समय विद्या भण्डारीको नेतृत्वमा एमाले र नेकपाबीच एकताको बहस चलिरहेको छ। तर, अहिलेको अवस्थामा एकता भने सम्भव नहुने राजनीतिक विश्लेषकहरुर बताउँछन् ।