जनकपुरधाम । धनुषामा पेस्तोलसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार (असार १३) जनकपुर उपमहानगरपालिका–९, थापाचोकबाट एकथान पेस्तोलसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धनुषाकै मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका–६ का १८ वर्षीय सुधीर मुखिया रहेका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।
उनका अनुसार, शनिबार दिउँसो करिब १ बजे यादव र मुखिया थापाचोकस्थित एउटा होटेलमा खाना खान पुगेका थिए ।
प्रहरीले सूचना पाएपछि होटेलमा पुगेर उनीहरूमाथि खानतलासी गर्दा पेस्तोल, त्यसमा लाग्ने म्यागजिन र चार राउन्ड गोली बरामद गरिएको छ ।
उनीहरू दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।