काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू र प्रधानमन्त्री बालेन शाहबीच सहकार्य भए जनताले त्यसलाई कति अचम्मका रूपमा लिने हुन् भन्ने प्रश्न उठाएका छन् ।
नेपालको बदलिँदो राजनीतिक समीकरणतर्फ संकेत गर्दै साम्पाङले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालबीच देखिएको सम्भावित सहकार्यलाई उदाहरणका रूपमा प्रस्तुत गरेका हुन् ।
लामो समयसम्म एकअर्काका कट्टर राजनीतिक प्रतिस्पर्धी रहेका ओली र प्रचण्ड पछिल्लो समय एउटै मञ्चमा देखिएपछि साम्पाङले सामाजिक सञ्जालमार्फत अर्थपूर्ण टिप्पणी गरेका छन्।
उनले फेसबुकमा लेखेका छन्, “प्रचण्ड र केपी ओली मिल्दा अचम्म नमान्ने जनताले हर्क साम्पाङ र बालेन मिले भन्ने खबर आए कतिको अचम्म मान्लान् त ?”
साम्पाङको यो अभिव्यक्तिलाई धेरैले बदलिँदो राजनीतिक समीकरणप्रतिको व्यंग्यका रूपमा हेरेका छन् भने केहीले सम्भावित नयाँ सहकार्यको संकेतका रूपमा पनि व्याख्या गरेका छन्।
साम्पाङले पछिल्लो समय प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति सार्वजनिक रूपमा आलोचनात्मक धारणा राख्दै आएका छन् ।