कास्की । पोखरा महानगरपालिका–२३ का २९ वर्षीय महादेव सापकोटालाई अपहरण गरेकाे आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुरका ४२ वर्षीय वसन्त लामा, पोखरा महानगरपालिका–२३ का ४५ वर्षीय भरतराज भण्डारी र पोखरा महानगरपालिका–२३ कै ४५ वर्षीय टिकाराम भण्डारी रहेकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार पक्राउ पर्ने भरतराज भण्डारी पोखरा महानगरपालिकाका वडा सदस्य हुन् । यस्तै लामा ठेकेदार हुन् भने टिकाराम भण्डारी सुपरभाइज हुन् । भदौ ८ गते सापकोटालाई उनीहरुले पोखरा महानगरपालिका–२३ खहरेखोला स्थित निर्माणधिन पुलबाट नियन्त्रणमा लिई मोबाइल खोसेर कुटपिट गर्दै बा १४ च ८२७९ नम्बरको कारमा राखेर भाडामा बस्दै आएका लामाको फ्ल्याटमा लगेर बन्धक बनाएर राखेका थिए ।
सापकोटालाई अपहरण गरी बन्धक बनाएको सूचना प्रहरीसमक्ष ११ गते अर्थात तीन दिनपछि पुग्यो । सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामको टोली सापकोटाको उद्दारको लागि परिचालन भयो । सूचना पाएको एक घण्टाभित्र सापकोटाको उद्दार गरिएको एसपी श्रेष्ठले बताए ।