Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • संक्रमणबीच कसरी मनाउने तिहार ?

    संक्रमणबीच कसरी मनाउने तिहार ?

    अनलाइन नेपाल
  • आइतबार, ३० कार्तिक २०७७
  • 2.4K
    SHARES

    काठमाडौँ — कोरोना संक्रमणको जोखिम उच्च रहेकाले सजगतासाथ तिहार मनाउन विज्ञहरूले सुझाव दिएका छन् । चाडपर्वको समयमा एकै ठाउँमा धेरै जना जमघट गर्दा संक्रमण थप फैलिने भएकाले सावधानी अपनाउन उनीहरूले सुझाएका हुन् । सरुवा रोग विशेषज्ञ डा.अनुप बाँस्तोलाका अनुसार पर्वको समयमा विशेष गरी बालबालिका र वृद्धवृद्धाले बढी सावधानी अपनाउन आवश्यक छ ।

    ‘बच्चाहरू शंकास्पद संक्रमित र जोखिम वर्ग दुवैसँग घुलमिल हुन्छन्,’ उनले भने, ‘संक्रमणका हिसाबले बालबालिका त्यति जोखिममा छैनन् तर उनीहरूले एकबाट अर्कामा सजिलै रोग सार्ने भएकाले धेरै घुलमिल नगर्दा राम्रो ।’ देउसीभैलो नखेल्न र टीका लगाउन नातेदारकहाँ नजानसमेत उनले युवा र बालबालिकालाई आग्रह गरे, ‘यसपालि जहाँ छौं, त्यहीं बसेर सावधानीसाथ तिहार मनाऔं ।’ संक्रमणको समयमा खानपानमा समेत ध्यान दिनुपर्ने उनले बताए । ‘भाइरसमुक्त भए पनि शरीर पहिले जस्तो हुँदैन, जुनसुकै अंगमा असर गरेको हुन सक्छ,’ डा. बाँस्तोलाले भने, ‘यस्तो बेलामा मद्यपान र धूमपानले ती अंग थप बिगार्न सक्छ, अन्य खानेकुरा भने बार्न जरुरी छैन ।’



    जनस्वास्थ्यविद् डा. समीरमणि अधिकारीले संक्रमणको समयमा तिहारलाई फरक तरिकाले मनाउन सुझाए । ‘तिहारमा बालबालिका र युवा बढी संलग्न हुने भएकाले दसैंमा जस्तो धेरै जोखिम छैन,’ उनले भने, ‘भौतिक दूरी कायम गरेर टीका लगाउन, कुराकानी गर्न मिल्छ,’ उनले भने, ‘वृद्धवृद्धाको नजिक धेरै नबस्ने, बस्नै परे कोठा खुला राख्ने गर्नुपर्छ ।’ घरमै संक्रमित भए सकेसम्म आइसोलेसनमै बस्ने र टीका लगाउने, भोज खाने जस्ता सांस्कृतिक माहोलमा मिसिन नहुने उनले बताए । ‘घरमै बसेका संक्रमितलाई सास फेर्न गाह्रो भए वा छाती दुखे चाड सकिने प्रतीक्षा गर्नु हुँदैन,’ उनले भने, ‘सक्दो चाँडो अस्पताल जानुपर्छ या स्वास्थ्यकर्मीको सल्लाह लिइहाल्नुपर्छ ।’



    कोरोना संक्रमण समुदायमा फैलिसकेकाले सकभर घरभित्रै चाड सीमित राख्नुपर्ने संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् । ‘भीड गर्दा संक्रमण फैलिने जोखिम छ भन्दाभन्दै दसैंमा लापरबाही भयो र संक्रमण झन् बढ्यो,’ उनले भने, ‘तिहारमा पनि उस्तै व्यवहार गर्ने हो भने संक्रमण अझै अनियन्त्रित हुन्छ । त्यसैले मास्क नफुकाली खुला ठाउँमा बसेर टीका लगाउनुपर्छ, एकै ठाउँमा भेला भएर खाना खानु पनि हुँदैन ।’ परिवारमा कसैलाई रुघाखोकी मात्रै लागेको छ भने मौसमी फ्लू भनेर नझुक्किन र कोरोनाकै लक्षण मानेर क्वारेन्टाइनमा बस्नसमेत उनले सुझाव दिए । कान्तिपुर दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार