Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भारतबाट हतियार ल्याएर बिक्री गर्ने व्यक्ति प्रहरीकाे फन्दामा

विराटनगर । भारतबाट हतियार ल्याएर बिक्री गर्ने एक व्यक्ति प्रहरीकाे फन्दामा परेका छन्। पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका–५ का ४१ वर्षीय राजकुमार मण्डल रहेका छन्।

भारतबाट हतियार नेपाल भित्र्याएर बिक्री गर्ने गरेको भन्दै उनलाई मोरङको सुनवर्षीबाट प्रहरीले पक्राउ गरेको हाे। उनको साथबाट पेस्तोल पनि फेला परेको छ ।

शुक्रबार दिउँसो पक्राउ परेका मण्डलको साथबाट एउटा कटुवा पेस्तोल, दुईवटा गोली, १९ हजार तीन सय २५ रुपैयाँ नगद र मोबाइल बरामद भएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले दिए ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार एउटा होटलमा मदिरा सेवनका लागि बसेका मण्डलले कम्मरमा भिरेको पेस्तोल स्थानीयले देखेका हुन् । कम्मरमा हतियार देखेर स्थानीय बासिन्दाले खवर गर्ने वित्तिकै परिचालित प्रहरी टोलीले मण्डललाई पक्राउ गरेको जानकारी उनले दिए ।

उनका अनुसार पक्राउ गरेर अनुसन्धान थालेपछि उनले बिक्रीका लागि पेस्तोल भारतको भागलपुरतिरबाट ल्याएको खुलेको छ । पक्राउ परेका मण्डलले भने कसलाई बिक्रीका लागि पेस्तोल ल्याएको हो भन्ने खुलाएका छैनन् । उनको साथबाट बरामद भएको मोबाइलको कल डिटेल्सका आधारमा हतियार किन्न खोज्ने व्यक्तिको पहिचान गर्ने प्रयास भइरहेको एसपी खड्काले बताए ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट खुलेका विवरण, पक्राउ परेका व्यक्तिबाट प्राप्त सूचना र उनको कनेक्सनका आधारमा हतियार खरिद गर्नेसम्म पुग्न प्रहरीले प्रयास गरिरहेको छ । पक्राउ परेका व्यक्तिले भने पैसा कमाउनका लागि भागलपुरबाट ल्याएर हतियार महँगोमा बिक्री गर्ने गरेको प्रहरीलाई बताएका छन् । उनले कतिमा हतियार खरिद गर्थे र नेपाल ल्याएर कति रुपैयाँमा बिक्री गर्थे भन्ने बारेमा खुल्न बाँकी रहेको एसपी खड्काको भनाइ छ ।

मण्डलको विगतको पृष्टभूमि हेर्दा पनि हतियारको कारोबारसँगै जोडिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077