काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेका डीएसपी पदमा तत्काल बढुवा हुने सम्भावना कम भएको छ। रिक्त पदमा एउटै ब्याचका धेरै प्रतिस्पर्धी भएपछि बढुवा नहुने सम्भावना बढेको छ ।
हाल डीएसपीका २४ पद रिक्त छन् । जसमा एक सय ३० इन्सपेक्टरबीच प्रतिस्पर्धा छ। बढुवामा चार जना सिनियर टोली तथा नयाँ ब्याचका एक सय २६ जना छन्। २०७२ सालमा इन्सपेक्टर भएका ब्याचबिच तिव्र प्रतिस्पर्धा छ।
सो ब्याचमा पहुँचवालाहरू वरियतामा पछाडि भएकाले पनि बढुवा रोकिएको हो । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका पिएसओ निरज चौलागाई पनि यही ब्याचका हुन्।
उनी वरियतामा एक सय भन्दा पछाडि छन् भने तालिममा पनि ‘ख’ श्रेणी पाएका थिए। उनलाई छुटाएर बढुवा गर्न आईजीपी कार्की इच्छुक देखिएका छैनन् । पुसमा ४० पद रिक्त हुने भएकाले सोही समयमा बढुवा गर्नुपर्ने उनको प्रस्ताव छ।
प्रवन्धमा रहेका आईजीपीका गाउँले इन्स्पेक्टर ईश्वरी अधिकारी बरियतामा पछाडी भए पनि बढुवा हुन लागिपरेका छन्।अर्का इन्स्पेक्टर भुपेन्द्र गिरी पनि बढुवा हुन खोजेका छन्। तर, बुढानिलकण्ठ प्रभागमा हुँदा चाइनिज ब्यापारीहरुसँगको डिलमा कारबाही भएकोले गिरीलाई तान्न मुस्किल छ।
बढुवाको विषयमा बिहीबार गृह मन्त्रालयमा छलफल भएको थियो । छलफलमा कार्यसम्पादन मूल्याङकनलाई मात्र आधार बनाएर बढुवा गर्नुपर्ने विषय उठेको थियो।
त्यसो गर्दा पनि केही शक्तिशाली इन्सपेक्टरहरू छुट्ने भएपछि डीएसपीका रिक्त पद खाली नै रहेन सम्भावना देखिएको छ।